कालीकोट भाद्र २२ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (भदौ २२ गते) साँझ ६:१५ बजे विशेष मौसमी बुलेटिन जारी गर्दै राति देशका अधिकांश भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा को सम्भावना रहेको छ।
यसैगरी कोशी प्रदेश (हिमाली, पहाडी तथा तराई), बागमती र गण्डकी प्रदेश (हिमाली तथा पहाडी), कर्णाली प्रदेशको पहाडी भू-भाग, तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ।
लगातारको वर्षाका कारण पहाडी तथा हिमाली भू-भागमा गेग्रान बहाव, पहिरो र भू-क्षयको जोखिम उच्च रहनुका साथै नदीनाला तथा खोलाहरूमा जलस्तर तीव्र रूपमा बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ। सडक यातायात, सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहेकाले तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।