कालीकोट, भाद्र २२ गते । अविरल वर्षाका कारण शनिबार रातिदेखि अवरुद्ध बनेको कर्णाली राजमार्ग खुलाउने प्रयास भइरहे पनि निरन्तरको भारी वर्षाका कारण ठाउँ-ठाउँमा गएकाे पहिराे पन्छाउने काम प्रभावित बनेको छ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार २०८३ भाद्र २० गते राति ७:०० बजेदेखि अवरुद्ध राजमार्ग उच्च प्राथमिकताका साथ तीव्र गतिमा खुलाउन भारी उपकरण (मेशिन) र प्राविधिक टोली साइटमै तैनाथ राखिएको छ। तर, अहिले कालीकोट क्षेत्रमा पुनः अत्यधिक तीव्र वर्षा भइरहेकाले सडक खुलाउने कार्यमा प्रत्यक्ष बाधा पुगेको छ।
माथिबाट निरन्तर लेदो र पहिरो खस्ने जोखिम कायमै रहेकाले वर्षा थामिनेबित्तिकै पुनः पहिरो पन्छाउने कार्यलाई निरन्तरता दिइने सडक डिभिजन कार्यालयले जनाएको छ। सडक पूर्ण रूपमा सुचारु नभएसम्म जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा तय गर्न सर्वसाधारण तथा यात्रुहरूमा अनुरोध गरिएको छ।