Loading

स्वास्थ्यकर्मीका लागि किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तालिम सुरु

स्वास्थ्यकर्मीका लागि किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तालिम सुरु

खडानन्द अधिकारी

सुर्खेत. भाद्र २२ गते । कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान वीरेन्द्रनगर सुर्खेतको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि पाँच दिने ‘किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ। प्लान इन्टरनेसनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक–नेपाल) कालीकोटको प्राविधिक सहयोग तथा समन्वयमा सो तालिम सञ्चालन गरिएको हो।

किशोरकिशोरी अवस्थामा आउने शारीरिक, मानसिक तथा संवेगात्मक परिवर्तनहरूलाई सहज रूपमा सम्बोधन गर्न र उनीहरूलाई गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिममा कालीकोट जिल्ला अस्पतालका प्रतिनिधिहरूसहित जिल्लाका तीनवटा स्थानीय तह-रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ।

पाँच दिनसम्म सञ्चालन हुने सो तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यको विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था, विद्यमान कानुनी प्रावधान, नीति नियम तथा निर्देशिकाहरूबारे विस्तृत जानकारी गराइनेछ। साथै, सेवा लिन आउने किशोरकिशोरीहरूसँग गर्नुपर्ने प्रभावकारी सञ्चार, मनोपरामर्श (Counseling) सीप, उमेर अनुकूलको किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा (जस्तै: रोगको निदान, व्यवस्थापन, उपचार, स्वास्थ्य शिक्षा र जटिल अवस्थामा सुरक्षित प्रेषण) प्रदान गर्ने तरिकाहरूबारे व्यवहारिक ज्ञान दिइनेछ।

स्वास्थ्य संस्थाको वातावरणलाई किशोरकिशोरी मैत्री बनाउन व्यवस्थापकीय पक्षमा गर्नुपर्ने सुधार र उनीहरूका गोप्य विषयलाई सुरक्षित राख्दै परामर्श सेवा कसरी सहज बनाउने भन्ने विषयमा समेत तालिममा गहन छलफल तथा अभ्यास गराइने आयोजक हुरेन्डेक–नेपालले जनाएको छ। यो तालिमपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीहरूको पहुँच वृद्धि हुनुका साथै उनीहरूले धिचकनाहट सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार