Loading

कोशी, बागमती र गण्डकीसहित कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीसहित कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ २१ भाद्र । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले २०८३ भाद्र २१ गते (आइतबार) को मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमदेखि भारी हिमपात/वर्षाको सम्भावना रहेको छ। त्यसैगरी देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा अथवा हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

विभिन्न प्रदेशका पहाडी तथा तराईका भू-भागमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो, लेदो खस्ने र नदीनालाहरूमा जलस्तर बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार