Loading

मानव बेचबिखन विरुद्धको २० औँ राष्ट्रिय दिवस कालीकोटमा सम्पन्न: प्रविधिको सही प्रयोग र सजगतामा जोड

मानव बेचबिखन विरुद्धको २० औँ राष्ट्रिय दिवस कालीकोटमा सम्पन्न: प्रविधिको सही प्रयोग र सजगतामा जोड

कालीकोट २० भाद्र । “प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कालीकोटमा मानव बेचबिखन विरुद्धको २० औँ राष्ट्रिय दिवस भव्य रूपमा मनाइएको छ। दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय कालीकोट र समुदाय-प्रहरी साझेदारी कार्यक्रमको संयुक्त आयोजनामा प्रभातफेरी तथा जनचेतनामूलक सभा सम्पन्न भएको हो।

शनिबार मान्म बजारमा आयोजित प्रभातफेरीमा नेपाल प्रहरी, स्थानीय तहका प्रतिनिधि, सामाजिक संघ-संस्था, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो। सहभागीहरूले मानव बेचबिखन विरुद्धका नारा, ऐक्यबद्धता र जनचेतनामूलक सन्देश अङ्कित ब्यानर र प्लेकार्ड बोकेर सदरमुकामका विभिन्न भागको परिक्रमा गरेका थिए।

प्रभातफेरीपश्चात् आयोजित सभालाई सम्बोधन गर्दै कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले प्रविधिको विकाससँगै मानव बेचबिखनका स्वरूपहरू समेत परिस्कृत र जटिल बन्दै गएको बताउनुभयो। उहाँले वैदेशिक रोजगारी, प्रलोभन वा डिजिटल माध्यमको दुरुपयोग गरी हुनसक्ने यस्ता अपराधबाट जोगिन नागरिक स्वयं सचेत हुनुपर्नेमा जोड दिनुभयो। “मानव बेचबिखनमुक्त समाज निर्माणका लागि कानुनको कडा कार्यान्वयनसँगै समुदायको हरेक तहमा उच्च सजगता आवश्यक छ,” प्रजिअ भट्टराईले भन्नुभयो।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले पछिल्लो समय सामाजिक सञ्जाल र प्रविधिको अज्ञानताका कारण नागरिकहरू बेचबिखनको जोखिममा पर्ने गरेको उल्लेख गर्नुभयो। डिएसपी खत्रीले प्रविधिको सही र सुरक्षित प्रयोगबारे गाउँ-गाउँसम्म चेतना फैलाउन प्रहरीले स्थानीय समुदाय, विद्यालय र मिडियासँगको साझेदारीलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।

सुरक्षित समाज र मानव अधिकारको रक्षाका लागि प्रहरी, स्थानीय प्रशासन र आम नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्ने निष्कर्षका साथ कार्यक्रम समापन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार