खलङ्गा,दार्चुला १९ भाद्र । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं. १ भट्टारस्थित चौलानी नदीमा माथिबाट खसेको पहिरोले नदी आधा थुनिएपछि तटीय क्षेत्रमा बाढीको उच्च जोखिम सिर्जना भएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्वसाधारण तथा सम्बद्ध निकायहरूलाई उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलद्वारा २०८३ भाद्र १९ गते जारी सूचना अनुसार सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरण गर्न चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सजग रहन आग्रह गरिएको छ। वर्षा तथा बाढीबारे जानकारी लिनका लागि ११५५ र विपद्मा मद्दत माग्न १२३४ (DEOC), नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बरहरू खुला राखिएका छन्।
विपद्को समयमा कुनै पनि अप्रिय घटना घटेमा वा उद्धारको आवश्यकता परेमा तत्काल खबर गर्न जिल्ला प्रशासन कार्यालय (९८५८७२७७७८, ९८५८७२४६६६), जिल्ला प्रहरी कार्यालय (९८५९२९४९११) तथा सशस्त्र प्रहरी बल नं. ४४ गण (९८६०३४१९७६) को सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
