काठमाडौँ १६ भाद्र । रसुवामा आएको विनाशकारी बाढीका कारण मानवीय क्षति थप बढ्दै गएको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १६ गते दिउँसो १:०० बजे सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढीका कारण मृतकको सङ्ख्या १,००३ पुगेको छ।
प्राधिकरणको विवरण अनुसार फेला परेका शव तथा अवशेषहरूमध्ये रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोर्खामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जना रहेका छन्। यसैगरी चितवनमा विभिन्न मानव अङ्गसहित ३२१ वटा अवशेष फेला परेका छन्। पहिचान खुल्न नसकेका शवहरूलाई देशका २१ वटा अस्पतालमा राखिएको छ भने तिनको विवरण नेपाल प्रहरीको विपद्सम्बन्धी पोर्टल udb.nepalpolice.gov.np/disaster र प्राधिकरणको आधिकारिक फेसबुक पेजमा राखिएको छ।
बाढीका कारण मानिसहरू बेपत्ता हुने क्रम अझै रोकिएको छैन। हालसम्म करिब ३,९१६ जना नागरिक सम्पर्कविहीन रहेका छन्। जसमध्ये नुवाकोटबाट करिब १५५८ जना र रसुवाबाट ८६५ जना बेपत्ता भएका छन्। यसैगरी क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाहरूबाट करिब ६३९ जना कामदार, ५८३ विदेशी नागरिक र पर्यटकसँगै गएका १६४ नेपाली समेत सम्पर्कविहीन छन्। खोजी कार्यमा खटिएका नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना जवानका साथै भन्सार कार्यालयका १५, अध्यागमनका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन थप बढाइएको छ। हाल २१,३१४ जना सुरक्षाकर्मी खटिएका छन्, जसमा नेपाल प्रहरीका ७,९१२, नेपाली सेनाका ९,१९९ र सशस्त्र प्रहरी बलका ४,२०३ जना रहेका छन्। हालसम्म ११,८८४ जनाको उद्धार गरिसकिएको छ। नेपाली सेनाको हेलिकप्टरद्वारा ५९२ पटक (आज ४१ उडानसहित) उडान गरी २७३ विदेशी र ३,५०९ नेपालीसहित कुल ३,७८२ जनाको हवाई उद्धार गरिएको छ भने काठमाडौँबाट निजी क्षेत्रका हेलिकप्टरमार्फत २९ उडान सम्पन्न भएका छन्। बाढीमा घाइते भएका २७९ जनामध्ये १६८ जना डिस्चार्ज भइसकेका छन् भने २,७४० जनाको सेनाको टोलीले उपचार गरेको छ।
बाढी प्रभावित नागरिकहरूका लागि स्थापित होल्डिङ सेन्टरहरूमा हाल नुवाकोटमा २४६६, काठमाडौँमा ३२९, रसुवामा ३९८ र धादिङमा २६० जना आश्रित रहेका छन्। उनीहरूका लागि ३७ वटा ट्रक, ३७ वटा बोलेरो र ९ वटा हेलिकप्टर उडानमार्फत निरन्तर खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। साथै, सशस्त्र प्रहरीद्वारा हालसम्म ७७ वटा उडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ। जसअन्तर्गत आज भदौ १६ गते नुवाकोटमा १६ उडानबाट ८ स्थानमा र रसुवामा ११ उडानबाट ११ स्थानमा राहत पुर्याइएको छ। सरकारले राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकाका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ नगद बजेट उपलब्ध गराएको छ।
सञ्चार पूर्वाधारतर्फ क्षति पुगेका नेपाल टेलिकमका ११० वटै टावर पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर पुन: सञ्चालन भइसकेका छन्। उद्धार र राहत उडानलाई निरन्तरता दिन प्रभावित क्षेत्रमा ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन पर्याप्त मात्रामा मौज्दात राखिएको छ।