कालीकोट १६ भाद्र । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभरका विभिन्न मन्त्रालय, निर्देशनालय, डिभिजन कार्यालय तथा जिल्लास्थित निकायहरूमा कार्यरत लेखा समूहका कर्मचारीहरूको ठूलो संख्यामा सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयको मिति २०८३ साल भदौ १५ गतेको निर्णयानुसार आठौँ तहका प्रमुख लेखा अधिकृत तथा वरिष्ठ लेखा अधिकृतदेखि चौथो तहका लेखा सहायकसम्मका ४३ जना कर्मचारीहरूको सरुवा सूची सार्वजनिक गरिएको हो।
यस निर्णयसँगै कालीकोट जिल्लाका वित्तीय प्रशासन सम्हाल्ने विभिन्न कार्यालयहरूमा पनि व्यापक हेरफेर भएको छ।
कालीकोटमा लामो समयदेखि कार्यरत वरिष्ठ लेखा अधिकृत रामदत्त देवकोटाको प्रदेश लेखा इकाइ कार्यालय कालीकोटबाट पूर्वाधार विकास कार्यालय दैलेखमा सरुवा भएको छ। त्यस्तै, खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय कालीकोटका लेखा अधिकृत प्रकाश खड्का भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय कालीकोटका लेखा अधिकृत कुमार रखाल खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय कालीकोटमा सरुवा हुनुभएको छ।
यसका साथै कालीकोटमा खाली रहेका र हेरफेर भएका जिम्मेवारी सम्हाल्न अन्य जिल्लाबाट नयाँ अधिकारीहरू कालीकोट आइपुग्ने भएका छन्। पूर्वाधार विकास कार्यालय दैलेखमा कार्यरत वरिष्ठ लेखा अधिकृत हरि बहादुर थापालाई प्रदेश लेखा इकाइ कार्यालय कालीकोटको प्रमुखका रूपमा पठाइएको छ।
त्यसैगरी पूर्वाधार विकास कार्यालय जाजरकोटमा कार्यरत लेखा अधिकृत नरदल बुढालाई स्वास्थ्य सेवा कार्यालय कालीकोटको लेखा प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लामा कार्यरत लेखा अधिकृत बीरबल नाथ योगी कृषि विकास कार्यालय कालीकोट सरुवा भई आउनुभएको छ।
प्रदेशभरका सरकारी कार्यालयहरूको आर्थिक प्रशासनलाई पारदर्शी, चुस्त र नतिजामुखी बनाउने उद्देश्यका साथ यो सरुवा अगाडि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। कालीकोटमा नयाँ वित्तीय अधिकारीहरूको आगमनसँगै जिल्लाको बजेट कार्यान्वयन, भुक्तानी प्रक्रिया र आर्थिक व्यवस्थापनका कामहरू थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।