कालीकोट १५ भाद्र । कालीकोट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल भएको छ। जिल्ला अस्पताल (स्वास्थ्य सेवा कार्यालय) कालीकोटमा पहिलो पटक हाडजोर्नी भाँचिएको जटिल शल्यक्रिया (अपरेशन) सफलतापूर्वक सम्पन्न भएको छ।
तीन वर्षकी एक बालिकाको कुइनाको हड्डी भाँचिएपछि जिल्ला अस्पतालमा उनको सफल शल्यक्रिया गरिएको हो। उक्त ऐतिहासिक शल्यक्रिया हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सागर ढकालको नेतृत्वमा सम्पन्न भएको हो। शल्यक्रिया टोलीमा एनेस्थेसिया सहायक विकास न्यौपाने र स्क्रब नर्स कविता शाही संलग्न हुनुहुन्थ्यो।
जिल्लामै पहिलो पटक हाडजोर्नीको शल्यक्रिया सफल भएको खुसीको खबर स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक डा. रत्नवीर सुनारले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मार्फत सार्वजनिक गर्नुभएको छ।
कालीकोटजस्तो दुर्गम क्षेत्रमा नै यस प्रकारको जटिल शल्यक्रिया सेवा सुरु भएपछि सामान्य हाडजोर्नीको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने र स्थानीयवासीले घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ।