Loading

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा हुनसक्ने ठगीप्रति सतर्क रहन राष्ट्र बैंकको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा हुनसक्ने ठगीप्रति सतर्क रहन राष्ट्र बैंकको अपिल

काठमाडौँ १५ भाद्र । विपद्को यस विषम घडीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन र ठगी भइरहेको पाइएपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सतर्कता अपिल जारी गरेको छ। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले मिति २०८३ भदौ १५ गते एक सार्वजनिक सूचना जारी गर्दै उद्धार कोषमा सहयोग रकम जम्मा गर्दा विशेष ध्यान दिन र सचेत रहन आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा जुनसुकै माध्यमबाट रकम ट्रान्सफर गर्दा प्राप्तकर्ताको खाताको नाम “Prime Minister Disaster Relief Fund” रहेको अनिवार्य रूपमा यकिन गरेर मात्र रकम पठाउनुपर्नेछ। साथै रकम प्रविष्ट गर्दा आफूले योगदान गर्न चाहेको रकम सही छ/छैन पुनः यकिन गर्न समेत सूचित गरिएको छ।

ठगीबाट बच्नका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएका आधिकारिक बैंक खाता विवरण मात्र प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। सामाजिक सञ्जाल, इमेल वा विभिन्न मेसेजिङ एपहरूमा फैलिएका अनधिकृत क्यूआर कोडहरू स्क्यान नगर्न र रकम भुक्तानी गर्दा सधैँ आधिकारिक एप्लिकेसनको मात्र प्रयोग गर्न भनिएको छ।

यसैगरी, सहयोग रकम पठाउन सघाउने बहानामा कसैले माग गरे तापनि आफ्नो ओटीपी (OTP), पिन (PIN) वा पासवर्ड जस्ता अति संवेदनशील व्यक्तिगत विवरण कसैलाई पनि नदिन राष्ट्र बैंकले सचेत गराएको छ। यदि कोही व्यक्ति ठगीमा परेको शङ्का वा महसुस भएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण एकाइमा जानकारी गराउन समेत अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार