काठमाडौँ १३ भाद्र । रसुवास्थित ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले प्रयास जारी राखेको छ। विगत दुई दिनदेखि निरन्तर जारी उद्धार प्रयास अन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वारमा जमेको लेदो तथा भग्नावशेष पन्छाएर मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ।
टनेलभित्र मानिसहरू फसेको खबर प्राप्त हुनासाथ सरकारले उच्च प्राथमिकताका साथ विशेष उद्धार टोली परिचालन गरेको थियो। उद्धार कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिरहेको छ। यद्यपि, सो क्षेत्रमा भइरहेको प्रतिकूल मौसमका कारण लेदो पन्छाउने र खोजी गर्ने काम निकै चुनौतीपूर्ण बनिरहेको छ।
यसैबिच, नेपालको उद्धार कार्यमा सघाउन आएको भारतीय प्राविधिक तथा उद्धार टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप जटिल स्थानहरूमा उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।