कालीकोट १३ भाद्र । जिल्ला अस्पताल कालीकोटमा नियमित रूपमा हाडजोर्नी तथा नसारोग सम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ। प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भई आउनुभएका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सागर ढकाल (MBBS, MS Orthopaedics) ले अस्पतालमा हाजिर भई उपचार सेवा दिन थालेसँगै यो सेवा सञ्चालनमा आएको हो।
यसअघि अस्पतालमा हाडजोर्नी तथा नसारोग विशेषज्ञको दरबन्दी भए तापनि चिकित्सक नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन। विशेषज्ञ चिकित्सकको आगमनसँगै अब कालीकोटबासीले आफ्नै जिल्लाबाट गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने भएका छन्।
स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारका अनुसार जिल्ला अस्पतालबाटै नियमित रूपमा हाडजोर्नी तथा नसासम्बन्धी उपचार सुरु भएसँगै यस प्रकारका स्वास्थ्य समस्या भएका बिरामीहरूलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता पूर्ण रूपमा हटेको छ।
उपलब्ध प्रमुख सेवाहरू:
अस्पतालबाट हाडजोर्नी दुख्ने समस्या, हड्डी भाँचिने तथा चोटपटकको उपचार, ढाड दुख्ने र नसा च्यापिने समस्याको विशेषज्ञ परामर्श तथा उपचार सेवा उपलब्ध हुनेछ। यसका साथै घुँडा, काँध, कुहिनो, कम्मर, खुट्टा लगायतका जोर्नीसम्बन्धी समस्या, हातखुट्टा झमझमाउने, दुख्ने र सुन्निने नसासम्बन्धी रोगहरूको उपचारका साथै अपरेसन/शल्यक्रिया परामर्श र फिजियोथेरापी तथा पुनर्स्थापना परामर्श सेवा समेत प्रदान गरिने अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार परामर्श सेवा प्रत्येक हप्ता प्रदान गरिनेछ भने थप जानकारीका लागि जिल्ला अस्पताल कालीकोटको सम्पर्क नम्बर ०८७-५२०८९४ वा ९८५५६०६७९७ मा सम्पर्क गर्न सकिनेछ।
