काठमाडौँ १२ भाद्र । नेपालका उदीयमान मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’ (Road to UFC) सिजन–५ को छनोट अन्तर्गत फाइनल चरणमा प्रवेश गरेका छन्।
चीनको सांघाईमा शुक्रबार सम्पन्न सेमिफाइनल भिडन्तमा रवीन्द्रले न्युजिल्यान्डका प्रतिस्पर्धी कासिब मोर्डोचलाई अङ्क (Decsion) का आधारमा पराजित गर्दै ऐतिहासिक सफलता हात पारेका हुन्।
‘बझाङको बाघ’ उपनामले परिचित रवीन्द्रले यसअघि गत मे महिनामा मकाउमा सम्पन्न पहिलो खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्तोजोनलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।
अन्तर्राष्ट्रिय एमएमए रिङमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका रवीन्द्रको चर्चा गत वर्ष अगस्टमा भएको ‘म्याट्रिक्स फाइट नाइट’ (MFN-17) मा भारतका चर्चित च्याम्पियन चुङग्रेड कोरेनलाई हराएर ब्यानटमवेट (Bantamweight) को उपाधि जितेपछि झनै चुलिएको थियो।
विश्वको सबैभन्दा ठूलो एमएमए संस्था यूएफसी (UFC) सँग आधिकारिक सम्झौता जित्ने लक्ष्यका साथ अघि बढेका रवीन्द्र अब उपाधि भिडन्त (फाइनल) को अन्तिम तयारीमा जुट्नेछन्।