काठमाडौँ १२ भाद्र । रसुवाको भोटेकोशी नदीमा गत भाद्र १० गते विनाशकारी बाढी आएकै क्षेत्रमा पुनः माथिल्लो भेगबाट लेदोसहित पानीको बहाव बढेपछि जोखिम थप बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आज एक अपिल जारी गर्दै थप बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतद्वारा जारी सतर्कता सूचना अनुसार भोटेकोशी र त्रिशूली नदी किनारमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा विविध कारणले जोखिम क्षेत्रमा रहेका सम्पूर्ण नागरिकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
माथिल्लो जलाधार क्षेत्रमा लेदोसहितको पानीको बहाव केही बढेको सूचना प्राप्त भएकाले जुनसुकै समयमा पनि बाढीको सतह तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ। प्राधिकरणले सम्भावित जोखिम देखिएमा वा बहाव बढेको महसुस हुनासाथ अविलम्ब सुरक्षित स्थानतर्फ जान विशेष अनुरोध गरेको छ।