Loading

भोटेकोशी बाढी: मृतक संख्या १४४ पुग्यो, २४५ जना अझै बेपत्ता

भोटेकोशी बाढी: मृतक संख्या १४४ पुग्यो, २४५ जना अझै बेपत्ता

काठमाडौँ ११ भाद्र । नेपाल-चीन सीमा नजिकै (रसुवागढी) तिब्बततर्फको माथिल्लो जलाधार क्षेत्रमा हिमपहिरो र गेग्रानका कारण नदीको बहाव थपिएर भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १४४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले भदौ १० गते राति ११:०० बजे जारी गरेको स्थिति प्रतिवेदन (प्रतिवेदन #०४) अनुसार नवलपरासी पूर्वमा थप शवहरू फेला परेसँगै मृतकको संख्या बढेको हो

नवीनतम तथ्याङ्क अनुसार नवलपरासी पूर्वमा मात्रै २२ जनाको शव फेला परेको छ। यसका साथै चितवनमा ६४, गोरखामा १९, धादिङमा १८, नुवाकोटमा ११, तनहुँमा ९ र रसुवामा १ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ

सुरक्षाकर्मीसहित २४५ अझै बेपत्ता, ७५ घाइते

विपद्का कारण २४५ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा रसुवाका १६१ जना र नुवाकोटका १ जना नागरिकका अलावा उद्धारमा खटिएका सुरक्षाकर्मीहरू समेत छन्। बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना गरी कुल ८५ जना सुरक्षाकर्मीहरू अझै सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ

यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट २९१ जना विदेशी र ९३ जना नेपाली गरी ३८४ जना यात्री बेपत्ता भएका छन्। बाढीमा परी ७५ जना गम्भीर घाइते भएका छन्, जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना रहेका छन्

पूर्वाधारमा भारी क्षति र उद्धार प्रयास जारी

बाढीले सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। हालसम्म ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक खण्ड पूर्ण रूपमा ध्वस्त भएका छन्। रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयका संरचनासमेत क्षतिग्रस्त बनेका छन्

हालसम्म स्थलगत रूपमा ९३ जना र नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत ११६ जना गरी कुल २०९ जनाको सफल उद्धार गरिएको छ। घाइतेहरूको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ भने प्रभावितहरूका लागि नजिकैको ब्यारेकमा अस्थायी बसोबास, खाना र औषधिको प्रबन्ध गरिएको छ

मन्त्रिपरिषद्को बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने, उद्धारका लागि सबै साधन परिचालन गर्ने र प्रभावित क्षेत्रहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरिसकेको छ

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार