काठमाडौँ/रसुवा १० भाद्र । तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी लगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि उत्पन्न सङ्कटलाई ध्यानमा राख्दै सरकारले व्यापक उद्धार, राहत तथा सतर्कताका कदमहरू अघि बढाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरीको टोली पूर्ण रूपमा परिचालन गरिएको जनाएका छन्। परिस्थिति नियन्त्रण र सहायताका लागि छिमेकी जिल्लाहरूबाट समेत अतिरिक्त सुरक्षा जनशक्ति घट्नास्थलतर्फ अघि बढिसकेको छ।
विपद् व्यवस्थापन प्राधिकरणलाई पूर्ण रूपमा सक्रिय गराइएको छ भने नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र मेडिकल टिमहरूसँग निरन्तर समन्वय गरी द्रुत सेवा सुरु गरिएको छ। घाइते तथा प्रभावितहरूको उपचारका लागि अतिरिक्त एम्बुलेन्स र चिकित्सकसहितको मेडिकल टोली घटनास्थलतर्फ पठाइएको छ।
सम्भावित जोखिम कम गर्न तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न रसुवा तथा आसपासका प्रमुख जिल्ला अधिकारी (CDO) हरूलाई निर्देशन दिइसकिएको छ। नागरिकहरूलाई एसएमएस (SMS) तथा फोन कलमार्फत सुरक्षित स्थानमा जान निरन्तर ‘अलर्ट’ गराइएको छ।
जटिल अवस्थामा द्रुत उद्धारका लागि सरकारी तथा निजी हेलिकप्टरहरू तयारी अवस्था (Standby) मा राखिएका छन् भने केही हेलिकप्टरहरू उद्धारका लागि प्रभावित क्षेत्रतर्फ उडिसकेका छन्।
आपत्कालीन सम्पर्क नम्बरहरू प्रशासनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य धारण गर्न र आफन्तहरूसँग सम्पर्क नभएमा आधिकारिक निकायको ‘रेस्क्यु अपडेट’ पर्खन अनुरोध गरेको छ। थप जानकारी, खोज तथा राहतका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ:
नेपाल प्रहरी हटलाइन: १००
आपत्कालीन उद्धार/सूचना: १२३४ / ११११