कालीकोट/बाजुरा ९ भाद्र। सुदूरपश्चिम र कर्णाली प्रदेशको साझा धार्मिक तथा पर्यटकीय धरोहरका रूपमा परिचित प्रसिद्ध बडीमालिका एवं ‘भू-स्वर्ग’का रूपमा चिनिने त्रिवेणी पाटन क्षेत्रमा पछिल्लो समय तीर्थयात्री र आन्तरिक पर्यटकहरूको घुइँचो बढ्दै गएको छ।
भौगोलिक रूपमा बाजुरा र कालीकोटको सीमानामा फैलिएको यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मनोरम हरिया पाटन, विशाल फाँट, आँखै अगाडि देखिने हिमश्रृङ्खला र अध्यात्मको अनुपम सङ्गम मानिन्छ। त्रिवेणी धाम र बडीमालिका मन्दिर क्षेत्रमा हरेक वर्ष लाग्ने मेलामा बाजुरा र कालीकोट दुवै जिल्लाबाट परम्परागत रूपमा सरकारी डोली र पूजा टोली जाने गर्दछन्।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरभन्दा बढी उचाइमा रहेको बडीमालिका र लौरीविनायक क्षेत्रमा यसवर्षदेखि सञ्चार सम्पर्कलाई सहज बनाउन नेपाल टेलिकमले उच्च प्रविधिको फोरजी (4G) सेवासमेत सञ्चालनमा ल्याएको छ। विकट भूगोलका कारण नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरणहरू ढुवानी गरी सञ्चालनमा ल्याइएको फोरजी सेवाले दुवै प्रदेशबाट यहाँ पुग्ने पर्यटक, श्रद्धालु भक्तजन तथा सुरक्षाकर्मीलाई ठुलो राहत पुर्याएको छ।
यार्सागुम्बालगायतका बहुमूल्य हिमाली जडीबुटीहरू पाइने यो क्षेत्र धार्मिक आस्थासँगै जैविक विविधता र पर्यटनका दृष्टिले कर्णाली र सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य बनेको छ।
कर्णाली र सुदूरपश्चिमको सङ्गमस्थल बडीमालिका र पवित्र त्रिवेणी पाटन क्षेत्रका केही मनोरम तस्बिरहरू:
