धनगढी ६ भाद्र। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले नयाँ कार्यविभाजन स्वीकृत गर्नुभएको हो।
पुनर्गठित मन्त्रिपरिषद्अनुसार मुख्यमन्त्री खगराज भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्नुहुनेछ भने सन्तोष कुमारी शर्मा (थापा) लाई सामाजिक विकास मन्त्रालय, प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र चक्र बहादुर मल्ललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी ओम विक्रम भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दमन बहादुर भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खुशीराम डगौरा थारुलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विभागीय जिम्मेवारी तोकिएको छ।
सरकारमा तीन जना राज्यमन्त्रीहरूसमेत नियुक्त हुनुभएको छ। जसअनुसार इन्दिरा गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, जानकी ऐर (बम) लाई आर्थिक मामिला राज्यमन्त्री र जानकी देवी कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सुम्पिएकाे छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू प्रकाश रावल, ओम विक्रम भाट र खुशीराम डगौरा थारुले प्रदेश प्रमुख नजिर मियाँसमक्ष नेपालको संविधानको धारा १६८ बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सोही समारोहमा नवनियुक्त राज्यमन्त्रीद्वय इन्दिरा गिरी र जानकी देवी कुँवरले मुख्यमन्त्री खगराज भट्टसमक्ष राज्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ।
