कालीकाेट ६ भाद्र। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८२/८३ को आर्थिक कारोबारको लेखापरीक्षण (अडिट) का लागि पहिलो चरणमा ४४ जिल्लामा टोली खटाएको छ। कार्यालयको स्वीकृत लेखापरीक्षण नीति तथा कार्यतालिका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयहरूको लेखापरीक्षणका लागि टोलीहरू कार्यक्षेत्रमा खटाइएको हो।
उप-महालेखापरीक्षक विन्दु विष्टद्वारा भदौ ५ गते जारी सूचना अनुसार पहिलो चरणमा कालीकोट, जुम्ला, मुगु, जाजरकोट, रुकुम (पश्चिम भाग) र सल्यान गरी कर्णाली प्रदेशका ६ वटा जिल्ला समावेश छन्। महालेखाले लेखापरीक्षण टोलीको कार्यसम्पादन वा आर्थिक अनियमितता सम्बन्धी कुनै सुझाव र गुनासो भएमा टोल फ्री नम्बर १८१०५००००६१ वा इमेल gunaso@oagnep.gov.np मार्फत दर्ता गराउन अनुरोध गरेको छ।
के हो लेखापरीक्षण र किन गरिन्छ ? सरकारी वा सार्वजनिक निकायले जनताको करबाट सङ्कलन भएको बजेट कसरी र कुन प्रक्रियाबाट खर्च गरे भन्ने विषयको निष्पक्ष जाँच गर्नु नै लेखापरीक्षण हो। यसले सार्वजनिक धनको सदुपयोग सुनिश्चित गर्न, आर्थिक अनुशासन कायम राख्न र भ्रष्टाचार एवं अनियमितता रोक्न मद्दत गर्दछ।
लेखापरीक्षणबाट कसलाई के फाइदा ?
सर्वसाधारण (नागरिक): आफूले तिरेको कर कसरी प्रयोग भइरहेको छ भन्नेबारे पारदर्शिता र सूचना पाउँछन्।
संसद् र सरकार: राज्यको कोष कहाँ कसरी खर्च भयो भन्ने यथार्थ विवरण थाहा पाई आगामी नीति र बजेट बनाउन सहज हुन्छ।
कार्यालय तथा निकायहरू: आफ्ना प्रशासनिक तथा वित्तीय कमजोरी पहिचान गरी कार्यशैलीमा सुधार ल्याउने मौका मिल्छ।
बेरुजुको चाङ र सरकारी बजेटको निरन्तर दुरुपयोग: कहिलेसम्म चल्ने यो नाटक ?
लेखापरीक्षणको सिद्धान्त र उद्देश्य जति सुन्दर र पारदर्शी छ, यसको व्यावहारिक कार्यान्वयन भने उत्तिकै निराशाजनक र चिन्ताजनक देखिन्छ। महालेखापरीक्षकको टोली हरेक वर्ष गाउँ-गाउँ र मन्त्रालयहरू पुगेर अर्बौँ रुपैयाँको बेरुजु (ऐन-नियमविपरीत भएको खर्च) को सूची तयार पार्छ। तर, विडम्बना के छ भने ती बेरुजुहरू असुल-उपर गर्ने वा अनियमितता गर्ने अधिकारीलाई कारबाही गर्ने तत्परता कतै देखिँदैन।
वर्षेनि बेरुजु थपिँदै जानु र असुली प्रक्रिया शून्यप्रायः हुनुले राज्यको बजेट र सार्वजनिक धनको चरम दुरुपयोग भइरहेको स्पष्ट पार्छ। लेखापरीक्षण केवल औपचारिकता र प्रतिवेदन सार्वजनिक गर्ने वार्षिक कर्मकाण्डमा मात्र सीमित बनेको छ। बेरुजु निकाल्ने तर असुल नगर्ने र दोषीलाई कारबाहीको दायरामा नल्याउने परिपाटीले राज्यको ढुकुटीमाथि निर्धक्क लुट मच्चाउन प्रोत्साहन गरिरहेको छ। जबसम्म बेरुजु थुपार्ने उत्तरदायी अधिकारी र जनप्रतिनिधिलाई कडा कानुनी कारबाही र असुलीको व्यवस्था गरिँदैन, तबसम्म यस्ता लेखापरीक्षणले मात्र बजेटको दुरुपयोग रोक्न सक्ने देखिँदैन।