Loading

महावै गाउँपालिका केन्द्र जोड्ने सेरावाडा-पाद्मगाड सडक स्तरोन्नतिका लागि सम्झौता

महावै गाउँपालिका केन्द्र जोड्ने सेरावाडा-पाद्मगाड सडक स्तरोन्नतिका लागि सम्झौता

कालीकाेट ३ भाद्र । कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सेरावाडा-पाद्मगाड सडक स्तरोन्नतिका लागि औपचारिक निर्माण सम्झौता सम्पन्न भएको छ। प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई वीरेन्द्रनगर, सुर्खेतमार्फत सडक स्तरोन्नतिको काम अघि बढाइएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित आयोजनाअन्तर्गत ठेक्का नम्बर PLRIP-KR-W-NCB-NC-07-080-81 मार्फत उक्त सडक निर्माण कार्य अघि बढाइनेछ। आर्थिक वर्ष २०८०/८१ मा स्रोत सुनिश्चितता प्राप्त भएको यस आयोजनाको निर्माणको जिम्मा एम/एस ओसिस इन्जिनियर्स बिल्डर्स प्रालि काठमाडौँले पाएको छ।

उक्त सडक स्तरोन्नतिका लागि ५० करोड ४७ लाख ५७ हजार १५५ रुपैयाँ ५२ पैसा स्वीकृत लागत अनुमान गरिएकोमा ३३ करोड ६६ लाख २७ हजार ४६४ रुपैयाँ १४ पैसामा सम्झौता भएको हो। आयोजनाको सम्झौता २०८३ जेठ २ गते भएको छ भने निर्माण व्यवसायीले २०८६ असार ३ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।

सम्झौता सम्पन्न भएसँगै महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले लामो समयको प्रयासपछि गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नतिका लागि वित्तीय तथा ठेक्का सम्झौता हुनु महावैबासीका लागि खुसीको विषय भएको बताउनुभयो। “गाउँपालिकाको मुकामसम्म सडक सञ्जाल नपुग्दा स्थानीयले भोग्दै आएको सास्ती अब अन्त्य हुनेछ,” अध्यक्ष सिंहले भन्नुभयो, “स्थानीय तहका तर्फबाट निर्माण व्यवसायीलाई आवश्यक पर्ने सहजीकरण, जग्गा व्यवस्थापन र स्थलगत सहयोगमा कुनै कमी हुन दिने छैनौँ। तोकिएकै समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न गराउन गाउँपालिकाले निरन्तर अनुगमन गर्नेछ।”

गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नतिको काम समयमै पूरा भएमा महावैका स्थानीय बासिन्दालाई आवतजावत र दैनिक उपभोग्य वस्तुको ढुवानीमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार