काठमाडौँ १ भाद्र । बजारमा सामान किनेपछि पैसा तिर्ने तर बिल नमागी फर्किने नेपाली उपभोक्ताको पुरानो बानीलाई बदल्न सरकारले ठूलो नगद पुरस्कारसहितको नयाँ योजना अघि सारेको छ। आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनमा ल्याउँदै सामान खरिद गर्दा बिल लिने उपभोक्तालाई लाखौँको पुरस्कार जित्ने अवसर दिएको हो।
बजारमा हुने वास्तविक कारोबारको अभिलेख राखी कर छली रोक्ने र कर प्रणालीलाई पारदर्शी बनाउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम लागू गरिएको छ। सरल भाषामा भन्नुपर्दा, उपभोक्तालाई खरिद गर्दा बिल माग्न प्रोत्साहित गर्ने र सोही बिललाई उपहार जित्ने ‘लकी ड्र’ को टिकट बनाउने सरकारी योजना हो।
यसरी सहभागी हुन सकिने, १०० रुपैयाँको बिलमा पनि मौका
नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एकपटकमा कम्तीमा १०० रुपैयाँको वस्तु वा सेवा खरिद गर्ने जुनसुकै उपभोक्ता यो कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्। यद्यपि व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकायका बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी साधन, हवाई टिकट तथा स्थायी लेखा नम्बर (PAN) नभएका पसलबाट जारी बिलहरू भने यसमा समावेश हुने छैनन्।
एउटा योग्य बिलबापत एकवटा मात्र उपहार टिकट पाइनेछ। भुक्तानीको माध्यम डिजिटल भएमा विवरणहरू स्वतः प्रणालीमा प्रविष्ट हुनेछन् भने नगद भुक्तानीको हकमा उपभोक्ता स्वयंले बिल नम्बर, विक्रेताको प्यान, रकम, मिति र आफ्नो मोबाइल नम्बर विभागको प्रणालीमा बुझाउनुपर्नेछ।
दैनिक र बम्पर विजेतालाई भारी नगद पुरस्कार
विभागको स्वचालित प्रणालीमार्फत हरेक महिनाको १ र १६ गते विजेता छनोट गरिनेछ। जसअनुसार दैनिक विजेतालाई १ लाख ३३ हजार ३३४ रुपैयाँ र हरेक १५ दिनमा छानिने बम्पर विजेतालाई १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेताले नियमानुसार २५ प्रतिशत आकस्मिक लाभकर कट्टी भएपछिको रकम पाउनेछन्।
विजेताको नाम वेबसाइटमा प्रकाशन हुनुका साथै एसएमएस र इमेलमार्फत जानकारी दिइनेछ। विजेताले घोषणा भएको १५ दिनभित्र सक्कल बिल, परिचयपत्र र बैंक खातासहित आन्तरिक राजस्व कार्यालयमा दाबी गरिसक्नुपर्नेछ। तोकिएको समयभित्र दाबी नभएमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने व्यवस्था गरिएको छ।
उपहार मात्र होइन, अधिकार र नागरिक कर्तव्य
सरकारको यो कदम केवल उपहार बाँढ्नमा मात्र सीमित छैन। बिल लिनु भनेको उपभोक्ताको हक सुरक्षा गर्नु पनि हो। भोलिका दिनमा सामान साट्न, फिर्ता गर्न वा ठगी भएको अवस्थामा कानुनी प्रमाणका रूपमा बिल नै सबैभन्दा बलियो आधार बन्दछ।
अर्कातर्फ, उपभोक्ताले बिल माग्दा आफूले तिरेको कर सोझै राज्यको कोषमा पुग्ने निश्चित हुन्छ। दर्ता भएका व्यवसायीले बिल नदिएमा कानुनी कारबाही र जरिवानाको व्यवस्था छ। त्यसैले ‘बिल चाहिँदैन’ भन्ने मानसिकता त्यागी प्रत्येक खरिदमा बिल माग्ने बानी बसाल्नु सचेत नागरिकको दायित्व र अधिकार दुवै हो।