रोल्पा, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जनाको मृत अवस्थामा शव फेला परेको छ।
शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर माथिबाट खसेको पहिरोले पुरेको थियो। घटनालगत्तै सुरु गरिएको खोजी तथा उद्धार कार्यका क्रममा बिहान ११:३० बजे तीनै जनाको शव फेला परेको हो।
मृत्यु हुनेहरूमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्। निरन्तर वर्षाका कारण क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको बताइएको छ।