Loading

रोल्पाको थबाङमा भीषण पहिरो: ३ जनाको मृत्यु, २ गम्भीर घाइते र ९ बेपत्ता

रोल्पाको थबाङमा भीषण पहिरो: ३ जनाको मृत्यु, २ गम्भीर घाइते र ९ बेपत्ता

रोल्पा, २८ साउन । अविरल वर्षाका कारण रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा गएराति गएको विनाशकारी पहिरोमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ। माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठहरू पुरेको छ।

घटनामा परी स्थानीय १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको छ। मनरखीको शव बिहीबार बिहान उद्धारका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

पहिरोमा परी उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ।

९ जना अझै बेपत्ता, सुरक्षा निकायको संयुक्त टोली उद्धारमा

प्रहरीका अनुसार पहिरोमा परी अझै ९ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

घटनास्थलमा बिहीबार बिहानैदेखि ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रनाउ (डिएसपी) पञ्चकुमार बाखु, नेपाली सेनाको श्री सूर्यदल गणका प्रमुख सेनानी दीपेश खड्का, सशस्त्र प्रहरी बलको टोली तथा इलाका प्रहरी कार्यालय थबाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन्।

अविरल वर्षा जारी रहेकाले थप पहिरो खस्ने जोखिमका बीच पनि सुरक्षाकर्मी र स्थानीयवासीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार