Loading

बन्द र घाटाका सार्वजनिक संस्थानमा सुधार: पाँच क्षेत्रमा उपलब्धि

बन्द र घाटाका सार्वजनिक संस्थानमा सुधार: पाँच क्षेत्रमा उपलब्धि

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक फेसबुक पेजमार्फत वर्षौंदेखि बन्द, घाटामा थलिएका र जीर्ण बनेका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूको पुनरुत्थानबारे प्रगति विवरण सार्वजनिक गरिएको छ। सरकारले अपनाएको निरन्तर सहजीकरण, कानुनी कडाइ र टिमवर्कका कारण देशका प्रमुख पाँच संस्थानहरूमा सुधारका आशालाग्दा परिणामहरू देखिन थालेका हुन्।

१. नेपाल औषधि लिमिटेडको बिक्रीमा बढोत्तरी घाटामा रहेको नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (GMP) मापदण्ड हासिल गरेपछि बिक्रीमा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गर्दै गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ। चालु आवमा ३० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य राखिएको छ। शासकीय सुधारका लागि तय गरिएको १०० कार्यसूचीअन्तर्गत आगामी तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही बमोजिम यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकोमा २५ प्रकारका औषधिको उत्पादन अन्तिम चरणमा पुगेको छ। हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ।

२. हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगका तान (लुम) मर्मत गरी परीक्षण उत्पादन सुरु गरिएको छ। नेपाली सेनाको व्यवस्थापनमा परीक्षण उत्पादन सुरु भइसकेको छ भने परीक्षण सफल भएपछि नेपाल सरकार आफैँले उद्योग सञ्चालन गर्ने योजना बनाएको छ।

३. नेपाल वायुसेवा निगमको आम्दानी र सिट अकुपेन्सी वृद्धि नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा निगमको सिट अकुपेन्सी ८६ प्रतिशत पुगेको छ। साथै, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत यसै अवधिमा भुक्तानी गरिएको छ।

४. दुग्ध विकास संस्थान (DDC) को राजस्व वृद्धि र निर्यात तयारी दुग्ध विकास संस्थानले किसानको बाँकी बक्यौता भुक्तानी चक्रलाई ८ महिना (७२ करोड) बाट घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारेको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ। सुधारका प्रयाससँगै दैनिक बिक्री ३५ प्रतिशतले बढेर औसत दैनिक राजस्व ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कर्मचारीलाई दिइँदै आएको घ्यू-दूध सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। संस्थानले चाँडै खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्न लागिएको छ।

५. सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढ्यो सिंहदरबार वैद्यखाना विकास समितिले हालसम्म ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ। गत आर्थिक वर्षमा औषधिको कुल कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा चार गुणा बढी हो। हाल १०५ प्रकारका औषधि उत्पादन गरिरहेको वैद्यखानाले चालु आवभित्र १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ। साथै निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा काम भइरहेको छ। चालु आवभित्रै पाउडर र ट्याब्लेट औषधिमा GMP मापदण्ड हासिल गर्ने र जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार