Loading

भारी वर्षाको चेतावनी: कर्णाली, गण्डकी र लुम्बिनीमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

भारी वर्षाको चेतावनी: कर्णाली, गण्डकी र लुम्बिनीमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

कालीकोट, ३२ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जनसहित मध्यमस्तरको वर्षा र हिमपातको सम्भावना देखिएको छ। तराई क्षेत्रतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मौसम बदली भई पानी पर्ने अनुमान गरिएको छ। विशेषगरी आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

यसैगरी आज रातिको मौसममा पनि देशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको क्रम जारी रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा पानी पर्ने सम्भावना छ भने मधेश, कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित मध्यम वर्षाको प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी र तराई तीनवै भू-भागका एक-दुई स्थानमा भारी वर्षाको योग रहेकाले ती क्षेत्रका नदी तटीय तथा पहिरोको जोखिम भएका स्थानहरूमा विशेष सावधानी अपनाउन आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार