कालीकोट, भाद्र २२ गते । अविरल वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक खण्ड) लाई यथाशीघ्र सुचारु गराउन कालीकोटको उच्च प्रशासनिक तथा सुरक्षा टोली बिहानैदेखि स्थलगत रूपमा खटिएको छ।
राजमार्ग अन्तर्गत शुभकालिका गाउँपालिका–१ स्थित गगने खोला र एस-मोडमा खसेको ठूलो पहिरो तथा चट्टान हटाउने कार्यलाई तीव्र पार्न कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्री र सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा आफैं पहिरो प्रभावित क्षेत्रमा पुगेर कमान्ड सम्हाल्नुभएको छ।
सडक डिभिजनका प्राविधिक, सुरक्षाकर्मी र भारी उपकरणहरू (डोजर/एस्क्याभेटर) परिचालन गरी निरन्तर पहिरो पन्छाउने काम भइरहेको छ। आज दिउँसो १ बजेसम्म पहिरो हटाई सडक सञ्चालनमा ल्याउने लक्ष्यका साथ उच्च प्राथमिकता दिएर काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिनुभयो।
यसैबीच, खाँडाचक्र नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना (पिली–बिर्तामोड क्षेत्र) मा सडक भासिएर र पहिरो खसेर अवरुद्ध बनेको खण्डमा पनि पहिरो हटाउने र बाटो मर्मत गर्ने काम सुरु भइसकेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभयो। सडक खुलाएर बीच बाटोमा रोकिएका यात्रु र सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन टोली निरन्तर खटिरहेको छ।
One Response
जानकारीको लागि धन्यवाद