कालीकोट १८ भाद्र । कालीकोट जिल्लामा मनसुन सक्रिय भई आगामी दिनहरूमा समेत वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय कालीकोटले सर्वसाधारण, यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईद्वारा जारी सूचनामा अविरल वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, भू-क्षय र सडक अवरोधजस्ता विपद्जन्य जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नै पर्ने अवस्था आएमा सम्बद्ध निकायबाट सडक तथा मौसमको पछिल्लो अवस्थाबारे पूर्वजानकारी लिएर मात्र प्रस्थान गर्न अनुरोध गरेको छ। साथै, जोखिमयुक्त सडक तथा पहिरो सम्भावित क्षेत्रमा सवारी साधन नरोक्न, रातिको समयमा जोखिमपूर्ण यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका निर्देशहरूको पूर्ण रूपमा पालना गर्न सूचनामा उल्लेख छ। सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सम्पूर्ण सरोकारवाला निकाय र जिल्लावासीलाई पूर्वतयारी र सतर्कता अपनाउन भनिएको छ।
