Loading

जाजरकोट पहिरो: मृतकको संख्या २ पुग्यो, २ जना अझै बेपत्ता, २०० बढी विस्थापित त्रिभुवन विद्यालयमा सुरक्षित

जाजरकोट पहिरो: मृतकको संख्या २ पुग्यो, २ जना अझै बेपत्ता, २०० बढी विस्थापित त्रिभुवन विद्यालयमा सुरक्षित

काठमाडौँ  ३१ साउन । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिकामा गएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। पहिरोमा परी गम्भीर घाइते भएका भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा साउन ३१ गते बिहान ०४:५० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। यसअघि भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा मृत फेला परेका थिए।

साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा भीषण पहिरो खसेको थियो। पहिरोका कारण घाइते भएका ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी र ५७ वर्षीया भद्राकली कार्कीलाई जाजरकोट जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ। यस्तै, डौरीकाँडाका मनवीर चदरा, मनिषा विक र मोतीकला विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने घाइते अनिता कार्की, युनिश शाही र सुन्तली चदरा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

पहिरो आएपछि भाग्ने क्रममा सम्पर्कविहीन भएका भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्रीको भने अझै खोजी कार्य जारी छ। पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर र भैरवी केसीका दुईवटा अस्थायी टहरा पूर्ण रूपमा भत्काएको छ।

पहिरोको उच्च जोखिममा रहेका रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित स्थानान्तरण गरिएको छ। यसका साथै झ्यालीखेत डाँडा, चिसापानी, राउटेरे डाँडा र फारुला क्षेत्रका थप ५४ जनालाई पनि सुरक्षित स्थानमा सारिएको छ। सडक अवरुद्ध रहेका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पैदल मार्ग हुँदै जोखिम मोलेर बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार