रास्कोट (कालीकोट), २९ साउन । स्थानीय स्तरमै सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराइ नागरिक अधिकारको प्रत्याभूति गराउने उद्देश्यका साथ कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासन सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ।
यसै क्रममा भूमि प्रशासन कार्यालय, कालीकोटको आयोजनामा रास्कोट नगरपालिकामा भूमि प्रशासन सेवा सञ्चालन सम्बन्धी स्थलगत भ्रमण, अनुगमन तथा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ।
एक महिनाभित्रै सेवा सञ्चालनमा ल्याउने तयारी
रास्कोट नगरपालिकाका नगर प्रमुख (मेयर) धर्मराज शाहीको विशेष उपस्थिति तथा सरोकारवालाहरूबिच भएको छलफलमा अबको एक महिनाभित्रै नगरपालिकाबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याउने सहमति र समन्वय भएको छ।
सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, प्राविधिक तयारी, सेवा प्रवाहको स्वरूप तथा व्यवस्थापनका विषयमा टोलीले स्थलगत अवलोकन गर्नुका साथै विस्तृत छलफल गरेको छ।
नागरिकलाई सास्तीबाट मुक्ति र सुशासनको प्रत्याभूति
स्थानीय तहबाटै भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालनमा आएपछि रास्कोटका नागरिकले सामान्य कामका लागि पनि जिल्ला सदरमुकाम मान्मा धाउनुपर्ने झन्झटिलो बाध्यताको अन्त्य हुनेछ। यसबाट स्थानीयको समय र खर्चको बचत हुनुका साथै गाउँ-घरमै सहज, सरल र प्रभावकारी रूपमा भूमि सम्बन्धी सेवा प्राप्त भई स्थानीय सरकारको अनुभूति थप बलियो हुने अपेक्षा गरिएको छ।