जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिकामा तिला नदी तर्ने क्रममा अचानक नदीको बहाव बढेर फसेका स्काभेटर चालक र सहचालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
आइतबार (साउन २७ गते) बेलुकी करिब ७:५० बजे चन्दननाथ नगरपालिका–१० खल्लागाउँबाट वडा नं. ९ उमगाडतर्फ जाँदै गरेको स्काभेटर तिला नदी तर्ने क्रममा अचानक परेको भारी वर्षाका कारण नदीको बहाव बढेपछि बन्द भई बीच भागमै अड्किएको थियो। स्थानीयले बेलुकी ८:०० बजे जिल्ला प्रहरी कार्यालय जुम्लामा खबर गरेलगत्तै प्रहरी टोली उद्धारका लागि खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालको कमान्डमा ११ जना र कर्णाली प्रदेश विपद् व्यवस्थापन गुल्म जुम्लाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरि प्रसाद सलामीको कमान्डमा ११ जना गरी २२ जनाको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले बेलुकी ९:१५ बजे नदीको बीच भागमा फसेका चालक र सहचालक दुवै जनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।