सुर्खेत, ४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत असार महिनामा आफ्नो सक्रियता बढाउँदै नियम उल्लंघन गर्ने हजारौँ सवारीसाधनमाथि कडा कारबाही गरेको छ। कार्यालयले सार्वजनिक गरेको २०८३ असार महिनाको प्रगति विवरण अनुसार महिनाभर ११ सय ६६ पटक गरिएको सघन ट्राफिक चेकिङका क्रममा २ हजार ५ सय ६८ वटा सवारीसाधन कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट कुल २३ लाख ८१ हजार रुपैयाँ जरिवाना राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
सडक सुरक्षालाई सुदृढ बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले कारबाहीसँगै सचेतनालाई पनि जोड दिएको छ। असार महिनामा मात्रै जिल्लाभर ५०१ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो, जसबाट ४६ हजार १५६ जना नागरिक लाभान्वित भएका छन्। व्यापक चेकिङ र सचेतनाकै प्रभाव स्वरूप असार महिनाभर जिल्लामा ४३ वटा सवारी दुर्घटना भएर ७३ जना घाइते भए तापनि कुनै पनि मानवीय क्षति नभएको अर्थात् मृत्यु संख्या शून्य रहन सफल भएको कार्यालयको तथ्याङ्कले देखाउँछ।
कारबाहीको प्रकृति हेर्दा ट्राफिक प्रहरीले कंक्रिट र भिजुअल नियम उल्लंघनमा विशेष अपरेसन चलाएको देखिन्छ। जसअन्तर्गत ओभरलोड र भभरलोड बोक्ने २८५ वटा सवारीसाधनलाई कारबाही गरिएको छ भने गाडीको झ्यालमा गैरकानुनी रूपमा राखिएका २३१ वटा कालो प्लास्टिक (टिन्टेज फिल्म) हटाइएको छ। यस्तै, नियम विपरीत व्यावसायिक काममा प्रयोग भएका ७२ वटा रातो नम्बर प्लेटका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको छ भने सवारीको बनावट परिवर्तन गरी राखिएका १२ वटा हुट तथा सफटप समेत हटाइएको छ। “सुरक्षा र जिम्मेवारी, ट्राफिक नियमको पालना हाम्रो तयारी” भन्ने मूल नाराका साथ सुर्खेत प्रहरीले सडक अनुशासन कायम राख्न थप आक्रामक रणनीति लिने संकेत दिएको छ।