वीरेन्द्रनगर (सुर्खेत) असाेज १९ गते । कर्णाली प्रदेश सरकारको छैटौँ मुख्य न्यायाधिवक्ता पदमा नियुक्त हुनुभएका वरिष्ठ कानुन व्यवसायी सर्वराज जोशीले सोमबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
मुख्य न्यायाधिवक्ताको कार्यालय वीरेन्द्रनगरमा आज (असोज १९ गते) आयोजित विशेष समारोहका बीच उहाँले पदभार सम्हाल्नुभएको हो। पदभार ग्रहण गर्दै नवनियुक्त मुख्य न्यायाधिवक्ता जोशीले प्रदेश सरकारलाई प्रभावकारी संवैधानिक तथा कानुनी सल्लाह प्रदान गर्ने, प्रदेश कानुन निर्माणमा सहजीकरण गर्ने र नागरिकको न्यायमा पहुँच विस्तार गर्न आफू प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो।
प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने मुख्य न्यायाधिवक्ताले सरकारको तर्फबाट अदालतमा प्रतिरक्षा गर्ने तथा जटिल संवैधानिक विषयहरूमा सरकारलाई राय–परामर्श दिने जिम्मेवारी वहन गर्दछन्। कर्णाली प्रदेशमा विधिको शासनलाई थप सुदृढ बनाउन र प्रदेश कानुन कार्यान्वयनलाई प्रभावकारी तुल्याउन नवनियुक्त मुख्य न्यायाधिवक्ता जोशीको कार्यकाल सफल रहने विश्वास व्यक्त गर्दै विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।