काठमाडौँ, असाेज १५ गते । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिकहरूको जीवनलाई केवल हेरचाह र संरक्षणको दृष्टिकोणले मात्र नहेरी समाजका सक्रिय, अनुभवी र अपरिहार्य साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। अग्रज पुस्ताको जीवनभरको अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सरकारले डिजिटल प्रविधिमा आधारित ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माणको प्रक्रिया अघि बढाएको छ।
अक्टोबर १ का दिन विश्वभर मनाइने यस दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै समाजका अनुभवी पथप्रदर्शक तथा सांस्कृतिक धरोहरका रूपमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति उच्च सम्मानसहित दीर्घजीवनको कामना गरिएको छ।
यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको मूल नारा “The Age of Longevity: Rethinking Systems for Longer Lives” अर्थात् “दीर्घायुको युग: दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” रहेको छ। यस नाराले जनसांख्यिक परिवर्तन, बदलिँदो पारिवारिक ढाँचा र आधुनिक सामाजिक परिवेशअनुसार हाम्रा नीति, सेवा प्रवाह, दृष्टिकोण र व्यवहारलाई समयसापेक्ष रूपमा पुनरावलोकन गर्नुपर्ने सन्देश दिएको छ।
दीर्घायु हुनु भनेको केवल उमेरका वर्षहरू थपिनु मात्र नभई परिपक्वता, संस्कारको संरक्षण र समाजलाई दिशानिर्देश गर्ने सामूहिक बुद्धिको विस्तार भएको सन्देशमा उल्लेख छ।

तीव्र शहरीकरण, बसाइँसराइ, रोजगारीका बदलिँदा स्वरूप तथा संयुक्त परिवारहरू एकल परिवारमा रूपान्तरण हुँदै जाँदा ज्येष्ठ नागरिकहरूमा एक्लोपन, स्वास्थ्य समस्या, हेरचाह र सामाजिक सुरक्षाका नयाँ चुनौतीहरू थपिएका छन्। यस्तो अवस्थामा उनीहरूको जीवनलाई सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउन परिवार, समुदाय र राज्य सबैको साझा सहकार्य आवश्यक रहेको औँल्याइएको छ।
राज्यले संविधान र कानुनबमोजिम सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा तथा हेरचाहसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको भए तापनि ज्येष्ठ नागरिकको ज्ञानलाई नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा जोड्न सके मात्र वास्तविक सम्मान स्थापित हुने स्पष्ट पारिएको छ।
ज्येष्ठ नागरिकहरूसँग सञ्चित अथाह ज्ञान, परम्परागत सीप र जीवनका भोगाइलाई राष्ट्रको अमूल्य बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गर्न आधुनिक प्रविधिको उपयोग गरिने भएको छ। यसै उद्देश्यका साथ ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ को अवधारणा अघि बढाइएको हो। यस डिजिटल भण्डारले एक पुस्ताले आर्जन गरेको विशिष्ट ज्ञान र जीवनउपयोगी सिकाइलाई अर्को पुस्ताको मार्गदर्शनमा रूपान्तरण गर्दै पुस्तान्तरणको खाडल पुर्न मद्दत गर्ने विश्वास लिइएको छ।
शुभकामना सन्देशमार्फत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाएका ज्येष्ठ नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, राहत, स्वास्थ्य उपचार र पुनर्स्थापनाका लागि आवश्यक समन्वयलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
ज्येष्ठ नागरिकप्रतिको सम्मान दिवसको एकदिने औपचारिकतामा मात्र सीमित नभई नागरिकको व्यवहार, सार्वजनिक सेवा र नीतिमा व्यवहारिक रूपमै झल्किनुपर्ने सन्देश दिइएको छ।