कालीकोट, असाेज १५ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले कालीकोट जिल्ला अस्पतालको आकस्मिक निरीक्षण भ्रमण गरेका छन्। आफ्नो गृहजिल्ला मुगु जाने सिलसिलामा कालीकोट पुगेका मुख्यमन्त्री शाहीले बुधबार अस्पतालको वस्तुस्थिति बुझ्न आकस्मिक अनुगमन गरेका हुन्।
निरीक्षणका क्रममा मुख्यमन्त्री शाहीले अस्पतालका विभिन्न वार्ड, आकस्मिक कक्ष, बहिरङ्ग सेवा (ओपीडी), प्रयोगशाला लगायत सबै कक्षहरूको प्रत्यक्ष अवलोकन गरेका थिए। उनले अस्पतालबाट हाल प्रवाह भइरहेको उपचार सेवाको गुणस्तर, बिरामीको अवस्था र औषधिको उपलब्धताका विषयमा विस्तृत जानकारी लिएका छन्।
भ्रमणकै क्रममा स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले मुख्यमन्त्रीसमक्ष अस्पतालले भोगिरहेको जनशक्ति अभावको गम्भीर समस्या प्रस्तुत गरे। डा. सुनारले जिल्ला अस्पतालमा हाल विशेषज्ञ चिकित्सक तथा मेडिकल अधिकृतहरूको चरम अभाव रहेको जानकारी गराउँदै तत्काल दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिदिन प्रदेश सरकारसँग माग गरे।
भौगोलिक रूपमा विकट र विपन्न नागरिकहरूको मुख्य भरोसाको केन्द्र रहेको जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण जटिल प्रकृतिका बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।
मुख्यमन्त्रीको टोलीले अस्पतालको वस्तुस्थितिलाई नजिकबाट नियालेर समस्या समाधानका लागि चासो देखाएकोमा अस्पताल परिवारले आभार व्यक्त गरेको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले मुख्यमन्त्रीको यस आकस्मिक अनुगमनले अस्पतालमा देखिएकाे विशेषज्ञ चिकित्सक अभाव लगायतका आधारभूत समस्या समाधानमा ठोस पहल हुने विश्वास लिइएको बताए।