काठमाडौँ, असाेज १४ गते । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई परम्परागत दलीय राजनीतिभन्दा माथि उठेर मुलुकको दीर्घकालीन नीति निर्माण र समृद्धिका लागि आफ्नो विज्ञता प्रयोग गर्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियरिङ, सूचना प्रविधि लगायत विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको विशेष छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो आह्वान गरेका हुन्। उनले संसद्मा नीतिगत बहसको स्तर उकास्न र मुलुकलाई निकास दिन प्राविधिक ज्ञान भएका जनप्रतिनिधिको भूमिका निर्णायक हुने बताए।
“तपाईंहरू आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ र आज मुलुकको नीति निर्माण गर्ने थलोमा पुग्नुभएको छ,” सांसदहरूलाई झक्झक्याउँदै प्रधानमन्त्रीले भने, “अब देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्। राजनीतिक खिचातानीभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुनुपर्ने बेला आएको छ।”
प्रधानमन्त्री शाहले निर्वाचन वा दलका आन्तरिक गतिविधिमा पार्टी राजनीति स्वभाविक भए पनि बाँकी समय मुलुकको विकास, योजना र प्राविधिक बहसमै खर्चिनुपर्नेमा जोड दिए। सांसदहरूलाई आफ्नो व्यावसायिक पहिचान र प्राविधिक दक्षता नगुमाउन सुझाव दिँदै उनले जनप्रतिनिधिहरू परिवर्तनको वास्तविक संवाहक बन्नुपर्ने धारणा राखे।
परिवर्तनका पक्षधरहरूले नयाँ उपाय (इनोभेसन) खोज्ने र त्यसैलाई कार्यान्वयनमा बदल्न तदारुकता देखाउने हो भने ५ वर्षको अवधिमै मुलुकको मुहार फेर्न सकिने दृढतासमेत प्रधानमन्त्रीले व्यक्त गरे।