Loading

असोज ९ देखि ११ सम्म भारी वर्षा र हिमपातको जोखिम, मौसम विभागद्वारा सतर्कता अपनाउन अपिल

असोज ९ देखि ११ सम्म भारी वर्षा र हिमपातको जोखिम, मौसम विभागद्वारा सतर्कता अपनाउन अपिल

काठमाडौँ, असोज ६ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ६ गते मङ्गलवार साँझ जारी गरेको अद्यावधिक विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रवारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

मौसम महाशाखाका अनुसार उत्तर अन्डमान सागर आसपास विकसित भएको न्यून चापीय प्रणाली हाल बङ्गालको खाडीको मध्य भू-भागमा थप शक्तिशाली बन्दै (Deep Depression) पश्चिम-उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ। सोही प्रणालीको प्रभावका कारण भोलि बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्दै जाने पूर्वअनुमान गरिएको छ।

विशेष गरी असोज ९ देखि ११ गतेको अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनुका साथै एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यसैगरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने मौसम महाशाखाले जनाएको छ।

लगातारको भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको उच्च जोखिम रहनेछ भने तराई तथा सहरी भू-भागहरू डुबानमा पर्न सक्ने खतरा छ। साना-ठूला नदी तथा खोलाहरूमा जलस्तर बढेर दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात र निर्माण कार्यसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र उच्च सतर्कता अपनाउन सरोकारवाला निकाय तथा सर्वसाधारणमा अनुरोध गरिएको छ।

यसैबीच, हिमाली भेगमा भारी हिमपातको जोखिम रहेकाले पर्वतारोही तथा पदयात्रीहरूलाई सतर्क रहन आग्रह गरिएको छ। हाल धानबाली भित्र्याउने सिजन चलिरहेकाले कृषकहरूलाई सम्बद्ध कृषि विज्ञको परामर्श लिएर मात्र कृषि कार्य गर्न र मौसम महाशाखाबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा हेर्न अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार