Loading

असोज ९ देखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा र हिमपातको जोखिम

असोज ९ देखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा र हिमपातको जोखिम

काठमाडौँ, असोज ५ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ९ गते शुक्रवारदेखि ११ गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको भन्दै विशेष मौसमी बुलेटिन जारी गरेको छ।

मौसम महाशाखाका अनुसार उत्तर अन्डमान सागर आसपास विकसित भएको न्यून चापीय प्रणाली हाल बङ्गालको खाडीको मध्य भू-भागमा थप शक्तिशाली बन्दै (Deep Depression) पश्चिम-उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ। उक्त प्रणालीको प्रभावले आगामी बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई वर्षाको गतिविधि क्रमशः बढ्दै जाने अनुमान गरिएको छ।

यसैगरी, असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

लगातारको भारी वर्षाका कारण पहाडी क्षेत्रमा भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम उच्च रहनेछ भने सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा बढेको छ। साना-ठूला नदी तथा खोलाहरूमा जलस्तर बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भन्दै पूर्वतयारी र उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैबीच, हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा पदयात्रीहरूलाई सजग रहन भनिएको छ। हाल धानबाली भित्र्याउने सिजन समेत चलिरहेकाले कृषकहरूलाई सम्बन्धित कृषि विज्ञको परामर्श लिएर मात्र बाली काट्ने वा व्यवस्थापन गर्ने कार्य गर्न र सर्वसाधारणलाई महाशाखाबाट जारी हुने अद्यावधिक मौसमी सूचना नियमित रूपमा हेर्न अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार