कालीकोट भाद्र २२ गते । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लाहरूमा आयोजना हुने भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले आज (भदौ २२ गते) प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष एवम् शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको १२५ औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिताको मिति तय गरिएको जनाएको छ।
यसअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न भएको थियो। त्यसयता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको थिएन।
दशौँ राष्ट्रिय खेलकुदलाई भव्य, सभ्य र सफल बनाउन मन्त्रालयले सबै प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवालाहरूलाई योजनाबद्ध रूपमा तयारी र व्यवस्थापनमा जुट्न अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता एवम् सहसचिव श्रीप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतियोगिताले राष्ट्रको गौरव उच्च राख्ने विश्वास व्यक्त गरिएको छ।
