काठमाडौँ, भाद्र २२ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अद्यावधिक तथ्याङ्क (भदौ २२ गते साँझ ६:०० बजेसम्मको) सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म १,३५६ जनाको ज्यान गएको छ। रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ जनाको शव (मानव अङ्गसहित) फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान भई आफन्तले बुझिलिएका छन्।
प्राधिकरणको अद्यावधिक विवरणअनुसार विपद्मा परेका १३,३९६ जनाको सकुशल उद्धार गरिएको छ भने ६,६७६ जना घाइतेको उपचार गरिएको छ। उद्धारका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरी बलका हेलिकप्टरमार्फत कुल १,४६५ पटक उडान भरिएको छ।
अझै पनि करिब ४,९९४ जना सम्पर्कविहीन रहेका छन्। जसमा रसुवाका १,९६३, नुवाकोटका २,३४०, सुरक्षाकर्मी तथा कर्मचारी १०० र ५८७ जना विदेशी पर्यटक रहेका छन्।
प्रभावित क्षेत्रमा राहतका लागि सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख नगद राहत उपलब्ध गराएको छ। खोज तथा उद्धारका लागि २१,४०२ सुरक्षाकर्मी परिचालन गरिएका छन् भने ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनालाई राखिएको छ। प्रभावित क्षेत्रमा इन्धन, खाद्यान्न, विद्युत् र सञ्चार सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र पारिएको प्राधिकरणले जनाएको छ।
