कालीकोट, भदौ ११ । स्वास्थ्य सेवा कार्यालय कालीकोटमा नवागन्तुक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सागर ढकाल र मेडिकल रेकर्ड सुपरभाइजर (मे.रे.सु.) टक्क नेपालीको स्वागत कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यालय परिवारले नवआगन्तुक दुवै कर्मचारीलाई हार्दिक स्वागत गर्दै कालीकोटको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा उहाँहरूको अनुभव, दक्षता र योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। स्वागत कार्यक्रममा बोल्दै सहभागीहरूले दुर्गम जिल्लाका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँहरूको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
त्यसैगरी, सरुवा भई सल्यान जान लाग्नुभएका मे.रे.सु. अनि यादवलाई कार्यालयले सम्मानपूर्वक बिदाइ गरेको छ। कालीकोटमा कार्यरत रहँदा स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँको आगामी जिम्मेवारी तथा पेशागत यात्राको उत्तरोत्तर प्रगति र सफलताको कामना गरिएको छ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले नवागन्तुक कर्मचारीलाई स्वागत र सरुवा भएका कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्ने परम्पराले संस्थागत सहकार्य, आपसी सद्भाव र सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।