Loading

धार्मिक तथा पर्यटकीय धाम बडीमालिकाको लौरीविनायकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

धार्मिक तथा पर्यटकीय धाम बडीमालिकाको लौरीविनायकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

कालीकोट ८ भाद्र। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको लौरीविनायक (त्रिवेणी पाटन क्षेत्र) मा नेपाल टेलिकमले उच्च प्रविधिको फोरजी (4G) मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। कठिन भौगोलिक बनोटका कारण वर्षौँदेखि सञ्चार सम्पर्कविहीन रहेको यस क्षेत्रमा टेलिफोन र दु्रत गतिको इन्टरनेट सेवा पुगेसँगै तीर्थयात्री तथा पर्यटकहरूलाई ठुलो राहत मिलेको छ।

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरभन्दा बढी उचाइमा रहेको बडीमालिका क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न सरकारको निर्देशनपछि नेपाल टेलिकमले प्रक्रिया अघि बढाएको थियो। विकट भूगोलका कारण स्थलमार्गबाट सामान ओसार्न असम्भव भएपछि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी करिब ४ हजार किलोग्रामभन्दा बढी तौलका टावर तथा प्राविधिक उपकरणहरू ढुवानी गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले बताउनु भयाे। हेलिकप्टरबाट झारिएका उपकरणहरूलाई स्थानीय बासिन्दा र बडीमालिका नगरपालिकाको सहयोगमा भरियामार्फत जडान स्थलसम्म पुर्‍याएर टावर निर्माण तथा नेपाल टेलिकमका प्राविधिकहरूद्वारा परीक्षण सम्पन्न गरी सेवा सञ्चालन गरिएको हो।

हरेक वर्ष भदौ महिनामा लाग्ने प्रसिद्ध बडीमालिका मेलाका अवसरमा देश-विदेशबाट पुग्ने हजारौँ श्रद्धालु भक्तजन, पर्यटक तथा सुरक्षाकर्मीहरू सञ्चार सुविधाबाट वञ्चित हुँदै आएका थिए। अब लौरीविनायकमा फोरजी सेवा सञ्चालन भएसँगै यात्राका क्रममा हुने सम्भावित जोखिमको उद्धार, स्वास्थ्य आपत्कालीनसँगै फोटो, भिडियो र सूचना तत्काल पठाउन सहज भएको छ। यस कदमले बडीमालिकाको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत नयाँ आयाम थपेको लामिछानेले बताउनु भयाे छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार