दैलेख,२३ कार्तिक। कालीकोटबाट अक्सिजन सपोर्टमा बिरामी लिएर सुर्खेततर्फ तीव्र गतिमा हुइँकिएको बोलेरो जिप कर्णाली राजमार्गमा भयानक दुर्घटनामा परेको छ। राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीस्थित सडकबाट अनियन्त्रित भई जिप करिब दुई सय मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएका छन्।
दुर्घटना आज बिहान करिब ५:३० बजे भएको हो। कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाबाट विषादी खाएर गम्भीर भएकी २७ वर्षीया बिरामी कैसि सार्कीलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बोलेरो काफलतोलीमा सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी जिप चालक कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ बस्ने २२ वर्षीय योगेश सिंखडा गम्भीर (सिरियस) घाइते हुनुभएको छ। उहाँको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।
यस्तै दुर्घटनामा सोही ठाउँका १८ वर्षीय गङ्ग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा तथा सान्नीत्रिवेणी–६ का ३६ वर्षीया जादुकाल सार्की, ४१ वर्षीय रने सार्की र विषादी सेवन गरेकी बिरामी कैसि सार्की घाइते हुनुभएको छ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) ललित रावलको कमान्डमा ५ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले स्थानीयको सहयोगमा भीरबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।