Loading

को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

सुदूरपश्चिम, २९ साउन । सुदूरपश्चिम प्रदेशको राजनीतिक मञ्चमा निष्ठा, निरन्तरता र वैचारिक स्पष्टताका पर्याय हुन्— खगराज भट्ट। किशोरावस्थामै जनपक्षीय राजनीतिको मूलधारमा होमिएका भट्ट विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल-यातना र सशस्त्र विद्रोहका कठिन घुम्तीहरू पार गर्दै आज सुदूरपश्चिम प्रदेशको सर्वोच्च कार्यकारी (मुख्यमन्त्री) पदमा पुग्न सफल भएका छन्।

वि.सं. २०३१ साल पौष २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा जन्मिएका भट्टका पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी हुन्। सामान्य किसान परिवारमा हुर्किएका उनले आईएल (I.L.) सम्मको अध्ययन पूरा गरेका छन्। समाजमा व्याप्त असमानता र उत्पीडनविरुद्ध औंला उठाउँदै उनले वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता लिएर औपचारिक राजनीतिक यात्राको सुरुआत गरेका थिए। वि.सं. २०५० देखि पूर्णकालीन कार्यकर्ताका रूपमा खटिएका उनी सोही वर्ष डडेल्धुरा जिल्ला कमिटी सदस्य बनेका थिए।

सुरुआती दिनमा अखिल क्रान्तिकारीमार्फत सुदूरपश्चिमका विकट क्षेत्रमा पुगेर संगठन निर्माण र चेतना फैलाउन उनले अहम् भूमिका खेले। डडेल्धुरा, बैतडी र दार्चुलाका बस्ती-बस्ती पुगेर जनतालाई संगठित गर्ने क्रममै उनी राज्यको निशानामा परे।

सशस्त्र आन्दोलनको सुरुआती चरणमै अर्थात् वि.सं. २०५२ फागुन २४ गते उनी अमरगढीबाट अपरण परे। राज्यविरुद्धको अपराध मुद्दा खेप्दै २०५३ पुससम्म जेल जीवन बिताएका भट्ट रिहाइलगत्तै झन् दृढ संकल्पका साथ पुनः आन्दोलनमै फर्किए।

वि.सं. २०६० मा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेका भट्टले जनयुद्धका कठिन दिनहरूमा सुदूरपश्चिमको क्षेत्रीय नेतृत्व कुशलतापूर्वक सम्हाले। उनको राजनीतिक यात्रा व्यक्तिगत त्यागमा मात्र सीमित रहेन, सिङ्गो परिवार नै क्रान्तिको चुलीमा होमियो।

जनयुद्धकै क्रममा उनका आफ्नै दाजु जयराज भट्टले ज्यान गुमाए (शहादत प्राप्त गरे)। उनका भाइ उमेश भट्ट, भाउजू नन्दा देवी, पत्नी मञ्जु बम र भाइबुहारी धर्मा बोहरासमेत घरबार छाडेर पूर्णकालीन रूपमा आन्दोलनमा खटिएका थिए।

शान्ति प्रक्रियापछि मूलधारको खुला राजनीतिमा आएका भट्टले डडेल्धुराबाट पटक-पटक चुनावी प्रतिस्पर्धा गरे। विशेष गरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘अभेद्य किल्ला’ मानिने डडेल्धुरामा देउवासँगै भिडेर उनले देखाएको कडा टक्करले उनलाई राष्ट्रिय राजनीतिमा एक स्थापित र निडर नेताका रूपमा चिनायो।

वि.सं. २०७९ को निर्वाचनमा डडेल्धुरा प्रदेशसभा (१) बाट प्रत्यक्ष निर्वाचित हुँदै उनी प्रदेशसभा प्रवेश गरे र संसदीय दलको नेता चुनिए।

हालै राजनीतिक समीकरणमा आएको बदलाव र विभिन्न वामपन्थी घटकहरूको एकीकरणपछि बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ का तर्फबाट उनी सुदूरपश्चिम प्रदेशसभाका ठूला नेताका रूपमा स्थापित भए। नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँबाट नेपालको संविधानको धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएसँगै अब उनको काँधमा सुदूरपश्चिमको समृद्धि, विकास र सुशासनको ठूलो जिम्मेवारी आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार