काठमाडौँ, २८ साउन । नेपाल प्रहरीको साइबर ब्यूरोले ‘BV Nepal’ नामक अनलाइन मल्टी-लेभल मार्केटिङ (MLM) प्लेटफर्ममार्फत भइरहेको ठगीधन्दाप्रति सर्वसाधारणलाई सचेत गराएको छ।
ब्यूरोका अनुसार उक्त प्लेटफर्मले “Campus Vending Machine Asset Management Product – 110 Days” नामक लगानी योजना चलाएर आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई ठगी गरिरहेको गुनासो तथा सूचना प्राप्त भएको छ।
साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरीद्वारा जारी विज्ञप्तिमा ‘BV Nepal’ वा यस्तै प्रकारका अत्यधिक उच्च प्रतिफलको दाबी गर्ने कुनै पनि एप्लिकेसन, वेबसाइट वा योजनामा रकम लगानी नगर्न आग्रह गरिएको छ।
साथै, यस्ता योजनाबारे जानकारी भएमा वा ठगीमा परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गरी उजुरी दर्ता गर्नसमेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।