कालीकोट २६ साउन । कालीकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा (मालपोत तथा नापी) स्थानीय तहबाटै सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूमि प्रशासन कार्यालय, कालीकोटलाई पत्राचार गर्दै रास्कोट नगरपालिकामा भूमि प्रशासन सेवा हस्तान्तरणका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएको हो। विभागका कम्प्युटर अधिकृत डिलाराम खनालद्वारा हस्ताक्षरित पत्र अनुसार, नापी कार्यालयहरूसँग आवश्यक समन्वय गरी ३ दिनभित्र प्रतिवेदन पठाउन भनिएको छ।
विभागले सेवा सञ्चालनका लागि रास्कोटमा उपलब्ध भवन तथा भौतिक सामग्रीको अवस्था, डिजिटल पूर्वाधार, प्रशासनिक तथा प्राविधिक जनशक्ति, साविकका गाविसहरूको विवरण र सेवा सुरु गर्न सकिने सम्भावित मितिसहितको विवरण माग गरेको छ।
रास्कोटमै सेवा सञ्चालन भएमा स्थानीय नागरिकले मालपोत र नापीसम्बन्धी कामका लागि सदरमुकाम मान्मासम्म पुग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनेछन्। यसले नागरिकको समय र आर्थिक बचत हुनुका साथै स्थानीय तहमै सरकारी सेवा विस्तारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
