कालीकोट २६ साउन । आन्तरिक राजश्व विभाग (IRD) को करदाता पोर्टलमा देखिने निरन्तरको प्राविधिक उल्झनका कारण दुर्गमका करदाता हैरान बनेका छन्। प्रणालीमा वर्षौँ पुराना सूचना अद्यावधिक नहुनु, D01 को भौचर सिर्जना गर्दा “Problem in generating voucher” भन्ने सन्देश आउनु र बीचैमा “Server could not be reached” भन्दै सर्भर डाउन हुनु जस्ता समस्याले कर विवरण दाखिला गर्न खोज्ने नागरिकले सास्ती खेप्नुपरेको छ।
विशेष गरी कालीकोट जस्ता दुर्गम जिल्लामा करदाता सेवा कार्यालय सम्म नहुँदा साना व्यवसायी र करदाताहरू सामान्य कामका लागि पनि जुम्ला पुग्न बाध्य छन्। गाउँपालिकाका साना व्यवसायीले २५ सय र नगरपालिकाकाले ४ हजार रुपैयाँसम्म कर तिर्नुपर्ने हुन्छ। तर, अनलाइन प्रणालीले काम नगरेर जुम्ला आउजाउ गर्दा मात्रै एक जनाको ५ देखि १० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। यसले गर्दा प्रविधिको सुविधाभन्दा भौतिक सास्ती र आर्थिक भार थपिएको छ।
यसै समस्याका विषयमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घका केन्द्रीय सचिव एवं पत्रकार मनिराज पाण्डेले आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालसँग टेलिफोन सम्वाद गर्नुभएको छ। सम्वादका क्रममा महानिर्देशक डा. भूसालले दुर्गमका करदाताले भोग्नुपरेको समस्याप्रति गम्भीर चासो र संवेदनशीलता व्यक्त गर्नुभयो।
उहाँले पन्छाउने भन्दा पनि वास्तविक समस्यालाई खुला रूपमा स्वीकार गर्दै हालको प्रणाली विक्रम संवत् २०५२ सालकै पुरानो प्रविधिमा आधारित रहेकाले करदाताको बढ्दो चाप धान्न नसकेको स्पष्ट पार्नुभयो।
महानिर्देशक डा. भूसालको यो सकारात्मक र सुधारमुखी अडानले करदाताहरूमा नयाँ आशा जगाएको छ। उहाँले पुरानो ढाँचालाई विस्थापित गरी आधुनिक, दु्रत र सुरक्षित सफ्टवेयर प्रणाली भित्र्याउन विभागले तीव्रताका साथ पूर्वाधार निर्माण र आन्तरिक तयारी गरिरहेको जानकारी दिनुभयो।
सरकारी निकायका प्रमुखले समस्या ढाकछोप गर्नुको सट्टा वस्तुगत अवस्था स्वीकार गर्दै सर्वसाधारणको हितका लागि प्रणाली नै परिवर्तन गर्ने तत्परता देखाउनुलाई सरोकारवालाहरूले सकारात्मक कदमका रूपमा लिएका छन्। विभागले चाँडै नै करदाताले प्रत्यक्ष अनुभूत गर्ने गरी सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने उहाँले बताउनु भयाे।