डोल्पा, २४ साउन । प्रहरी कर्मचारी उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, शारीरिक तन्दुरुस्ती तथा खेलकुद विकासलाई लक्षित गर्दै मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अनिल राज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा प्रहरी कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा कूल १८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए।
कडा प्रतिस्पर्धाका बिच प्रहरी निरीक्षक पदम रावल र प्रहरी जवान पञ्चे रावतको टिम प्रथम हुन सफल भएको छ। त्यसैगरी प्रहरी सहायक हवल्दार कृष्णबहादुर धामी र प्रहरी जवान खिमराज थापाको टिम द्वितीय तथा प्रहरी सहायक निरीक्षक सुवास राना र प्रहरी जवान हिक्मतबहादुर बुढाको टिम तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजयी टिमका खेलाडीहरूलाई प्रमुख अतिथि डिएसपी अनिल राज गिरीले मेडल तथा प्रमाण-पत्र प्रदान गरी बधाई तथा सम्मान व्यक्त गर्नुभयो।
यस प्रकारका खेलकुद प्रतियोगिताले प्रहरी कर्मचारीहरूमा स्वस्थ जीवनशैली, अनुशासन, आत्मविश्वास तथा सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।