Loading

सुर्खेतमा रास्कोटका लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सुरु, नगर प्रमुख शाहीद्वारा उद्घाटन

सुर्खेतमा रास्कोटका लाभग्राहीका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सुरु, नगर प्रमुख शाहीद्वारा उद्घाटन

कालीकोट, २२ साउन । रास्कोट नगरपालिका, कालीकोटले नगरबाहिर अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी सुर्खेतमा सामाजिक सुरक्षा भत्ता बायोमेट्रिक नवीकरण घुम्ती शिविर सञ्चालनमा ल्याएको छ। स्थायी बसोबास रास्कोटमा भई हाल काम, अध्ययन तथा उपचारको सिलसिलामा सुर्खेत र आसपासका क्षेत्रमा बसोबास गरिरहेका लाभग्राहीहरूको सहजताका लागि पालिकाले यो शिविर आयोजना गरेको हो।

नगर प्रमुख धर्मराज शाहीको उपस्थितिमा बिहीबार एक औपचारिक कार्यक्रमका बीच उक्त शिविरको शुभारम्भ गरिएको छ। “जहाँ नगरवासी, त्यहीँ नगर सरकार” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै नगरपालिकाले आफ्ना नागरिकलाई पायक पर्ने स्थानमै पुगेर सेवा दिने उद्देश्यले यो अभियान सञ्चालन गरेको नगर प्रमुख शाहीले बताए।

नगरपालिकाले साउन १५ गते प्रकाशित गरेको सूचना अनुसार उक्त नवीकरण शिविर सुर्खेतस्थित एरिचोक (बुलबुले पेट्रोल पम्प नजिक) रहेको ‘होटल टिकटक’ मा सञ्चालन भइरहेको छ। साउन २१ गतेदेखि सुरु भएको यो शिविर साउन २२ गतेसम्म बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सञ्चालन हुनेछ।

नवीकरणका लागि लाभग्राहीहरूले नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। यस्तै बालबालिकाको हकमा जन्म दर्ता र संरक्षकको राष्ट्रिय परिचयपत्र, विधवाको हकमा मृत्यु दर्ता प्रतिलिपि तथा अपाङ्गता भएका व्यक्तिको हकमा अपाङ्गता परिचयपत्रसहित उपस्थित हुनुपर्ने नगरपालिकाले जनाएको छ।

नागरिकमैत्री सेवा प्रवाहप्रति नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै निर्धारित समयभित्रै सुर्खेतस्थित शिविरमा उपस्थित भई बायोमेट्रिक नवीकरण गराउन र सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्ने वातावरण बनाउन रासकोट नगर कार्यपालिकाले सम्पूर्ण लाभग्राहीहरूमा अनुरोध गरेको छ। शिविरसम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि सम्पर्क व्यक्ति हुकुम शाही (९८५८३२२१७५) र तपेन्द्र शाही (९८४८३२१४५६) लाई तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार