Loading

सुनसरी घटना: रास्वपाको पहलमा सर्वदलीय बैठक, सामाजिक सद्भाव जोगाउन ९ राजनीतिक दलको ५ बुँदे संयुक्त अपिल

सुनसरी घटना: रास्वपाको पहलमा सर्वदलीय बैठक, सामाजिक सद्भाव जोगाउन ९ राजनीतिक दलको ५ बुँदे संयुक्त अपिल

काठमाडौँ  १३ साउन। सुनसरी लगायतका विभिन्न जिल्लाहरूमा हालै विकसित भएका अत्यन्त संवेदनशील र दुःखद घटनाक्रमबाट उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउन प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले घटनाको गम्भीर समीक्षा गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त वक्तव्य तथा अपिल जारी गरेको हो।

बैठकपछि जारी संयुक्त अपिलमा ९ वटा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्। अपिलमा हालैका घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

राजनीतिक दलहरूले परापूर्वकालदेखि कायम रहेको सामाजिक सद्भाव र पारस्पारिक भाइचारा खलबल्याउने खालका कुनै पनि अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन सम्पूर्ण देशवासीमा आग्रह गरेका छन्। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने भएकाले शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाटै समाधान खोज्नुपर्नेमा दलहरूले जोड दिएका छन्।

यस्तै, स्थिति सामान्य बनाउन केवल केन्द्रीय प्रयास पर्याप्त नहुने निष्कर्ष निकाल्दै प्रदेश, जिल्ला र स्थानीय तहमा समेत सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी तल्लो तहसम्म संवाद पुर्‍याउन आ-आफ्ना दलीय समितिलाई निर्देशित गरिएको छ।

सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्ने भएकाले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई र तथ्यपरक समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरिएको छ।

साथै, नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएकाले अधिकतम संयमता अपनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।

शीर्ष नेताहरूको संयुक्त हस्ताक्षर

सुनसरी घटनापश्चात् सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रतिबद्धता जनाउँदै ९ दलका प्रमुख तथा प्रतिनिधिहरूले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ:

रवि लामिछाने (सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी)

गगन थापा (सभापति/नेता, नेपाली कांग्रेस)

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अध्यक्ष, नेपाली कम्युनिस्ट पार्टी)

शंकर पोखरेल (महासचिव, नेकपा एमाले)

आरेन राई (महासचिव, श्रम संस्कृति पार्टी)

महन्थ ठाकुर (अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी)

राजेन्द्र लिङ्देन (अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी)

सीके राउत (अध्यक्ष, जनमत पार्टी)

प्रकाश अधिकारी (नेता, जनता समाजवादी पार्टी नेपाल)

सबै दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि राजनीतिक दलहरू एकजुट रहेको सन्देश प्रवाह गर्दै शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार