Loading

दूरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व: कर्णालीको डिजिटल विभेद अन्त्य हुनेमा सरोकारवाला आशावादी

दूरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व: कर्णालीको डिजिटल विभेद अन्त्य हुनेमा सरोकारवाला आशावादी

कालीकोट ३० असार । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को नवनियुक्त अध्यक्षका रूपमा अर्जुन घिमिरेले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार नियुक्त हुनुभएका घिमिरेले सोमबार सञ्चारमन्त्रीबाट नियुक्तिपत्र बुझ्दै पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको हो।

नयाँ नेतृत्वको आगमनसँगै विकट कर्णाली क्षेत्रका सरोकारवालाहरूले सञ्चार क्षेत्रमा नयाँ सुधार र विकासको बलियो आशा राखेका छन्। भौगोलिक रूपमा विकट र प्रविधिको पहुँचमा सधैँ पछि पारिएको कर्णालीका लागि यो नेतृत्वलाई वर्षौँदेखिको डिजिटल विभेद अन्त्य गर्ने एउटा सुनौलो अवसरका रूपमा हेरिएको छ।

नवनियुक्त अध्यक्ष घिमिरे र प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठलाई नियुक्तिपत्र प्रदान गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दुवै नियामक निकायका नेतृत्वप्रति सरकारको उच्च अपेक्षा रहेको बताउनुभएको थियो। मन्त्री तिमिल्सिनाले नियामक निकायहरूले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभएकाले पनि यस पटक सञ्चार र प्रविधि क्षेत्रमा ठोस सुधार हुने विश्वास गरिएको छ।

देशलाई ‘डिजिटल नेपाल’ बनाउने सरकारी लक्ष्य तब मात्र पूरा हुनेछ जब कर्णालीका कुना-काप्चासम्म गुणस्तरीय सञ्चार पहुँच स्थापित हुनेछ। यस महान् अभियानमा क्यान महासंघ र दूरसञ्चार प्राधिकरणबीच डिजिटल साक्षरता, विद्यालयहरूमा सूचना प्रविधिको विकास र साइबर सुरक्षा जस्ता क्षेत्रमा रणनीतिक साझेदारी गरेर अगाडि बढ्न सकिने उहाँको भनाइ छ।

लामो समयदेखि दूरसञ्चार र प्रविधिको क्षेत्रमा गहिरो अनुभव बटुल्नुभएका नवनियुक्त अध्यक्ष घिमिरेको कार्यकालमा देशैभरिको इन्टरनेट सेवाको गुणस्तरमा व्यापक सुधार आउने अपेक्षा गरिएको छ। उपभोक्ताको ढाड सेकिने गरी लिइने चर्को शुल्क र त्यसको अनुपातमा पाइने कमजोर सेवाको अन्त्य गर्दै नियामक निकायले कडा अनुगमन गर्नेमा सरोकारवालाहरू विश्वस्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार